कृषि विकासको क्षेत्रमा संलग्न कृषक, कृषि उद्यमीहरु र कृषि प्राविधिकहरुको तालिम कार्यक्रमहरुबाट सीप तथा क्षमता अभिवृद्धि गरी गण्डकी प्रदेशको कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण गरी खाद्य सुरक्षा एवं गरिबी निवारणमा टेवा पुर्याउन र प्रदेशको समग्र आर्थिक, सामाजिक विकासको गतिलाई अगाडि बढाउन भूमि व्यवस्था कृषि  सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय  मातहत रहने गरी  २०७५ साल आश्विन १० गते कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रको उद्घाटन तत्कालिन भूमि व्यवस्था कृषि  तथा सहकारी मन्त्रालयका माननीय मन्त्री लेख बहादुर थापा मगर ज्युबाट भएको थियो । यस प्रदेशका कृषकहरु, कृषि उद्यमीहरु र व्यवसायीहरुलाई कृषि क्षेत्रमा लगानी गर्न आकर्षित गर्दै उनीहरुलाई कृषि उद्यम सञ्चालन गर्न आवश्यक प्राविधिक तथा अन्य विषयमा परामर्श दिन र कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गरेर यस प्रदेशको कृषि व्यवसायको विकासलाई गति प्रदान गर्ने जिम्मेवारी समेत यस केन्द्रको रहेको छ । हाल यस केन्द्रको कार्यालय पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनमा रहेको छ।

दीर्घकालीन सोच

आधुनिक प्रविधिको प्रयोग तथा विस्तार मार्फत प्रदेशस्तरमा कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण एवं कृषि व्यवसायको दिगो विकास गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा टेवा पुर्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिने ।